Feeds:
Posts
Comments

Archive for the ‘singer’ Category

Read Full Post »


सन् २००४ मा पहिलो एकल एल्बम आज बजारमा ल्याएका एड्रियन प्रधान पछिल्लो समयमा सबैभन्दा बढी लोकप्रिय गायकका रुपमा परिचित छन् । उनको एकल गायनको प्रयासले पपगायनमा जमेका केही गायकहरुको करियर नै धर्मराउने उनको प्रवेशलाई कतिले त इष्र्यालु नजरले हेरे पनि १९७४ एडी साङ्गीतिक समूहका यी ड्रमरको उद्देश्य चाहिँ एकल गायनमा आफ्नो धाक जमाउनु नै थियो । त्यसैले पहिलो एल्बमबाट नै उनले जति ख्याति बटुले, त्यसमा उनी सन्तुष्ट छन् ।

तर यो जान्दा तपाइँलाई अचम्म लाग्ला कि यी गायकको अर्को एकल एल्बम बजारमा आइसकेको छ, तर पछिसम्म यिनलाई थाहा थिएन- ब्यालेड नामक यो एल्बम आफूले कहिले निकालेँ भनेर ! अलि बुझ्नु भएन होला, ताल म्युजिकले बजारमा ल्याएको ‘ब्यालेड’ एल्बमका लागि कम्पनीले आफूलाई जानकारी नै नदिई अरुका लागि गाइदिएका गीतहरुको सङ्कलन बजारमा आएको छ । त्यसैले त यो एल्बम निस्किए पनि उनी आफूलाई जानकारी नहुनु आश्चर्यको विषय उनले मानिरहेका छैनन् ।

खैर, यी त भए गायन व्यवसायिकताका कुरा तर सानामा उनलाई गायक हुँला भन्ने त एकमनमा पनि थिएन । सोच्छन्- “म लजालु केटा थिएँ । म निस्क्रिय थिएँ । तर अरुका क्रियाकलाप, खेलकूद हेरिरहने किसिमको बेग्लै थिएँ ।” भिडभन्दा अलग रहेर व्यक्ति र समाज केलाउने उनलाई त्यसो त सङ्गीतको सारेगम सिकाउने गुरु हुनुहुन्थ्यो, चन्द्रमोहन केसी । तपाइँले उनले गाएको ‘सम्बोधन तिमीलाई गर्दैछु म…’ सुन्नु भएको छ भने यो गीत तिनै गुरुप्रति समर्पित गीत हो । “उहाँले नै मलाई सङ्गीतको सारेगम सिकाउनु भयो, आज नाम कमाएपछि मलाई लाग्यो मेरो गुरुप्रति मैले केही समर्पित गर्नै पर्छ- त्यही भएर यो गीत जन्म्यो र हिट पनि भयो”, केही क्षण भावुकतामा डुब्दै गायक प्रधानले इनशाडटकमलाई बताए ।

कालिम्पोङमा जन्मिएका यी गायकले एक कक्षादेखि आठ कक्षासम्म एउटा स्कूलमा पढे र त्यसपछि अर्को स्कूलमा सरे । अर्को स्कूलमा सरेपछि उनको गायनसँगको सम्बन्ध टुट्यो, सर चन्द्रमोहन पनि छुट्नु भयो । स्कूलका विविध कार्यक्रममा उनले सहभागिता न्यून हुँदै गयो । तर, एक दिन स्कूलमा उनैले गीत गाउनु पर्ने भयो, गीतारमा हातमा लिएर उनले गाए- स्मोक अन द वाटर… । यो गीत उनले के गाएका थिए, वास्तवमा उनले पानीमा आगो लगाइदिए !

यसपछि उनका ‘कजन’हरुले उनलाई उक्साए । हुन त उनलाई बढीमा अंग्रेजी गीत नै मन पर्दथ्यो तर कजनहरुको रुचि दीप श्रेष्ठका गीतमा पनि भएपछि उनले विस्तारै नेपाली गीत गाउन थाले । उनको प्रभाव र रुचि अंग्रेजी गीतमा कतिसम्म थियो भने उनले सन् १९९० सम्म भारतीय राजधानी दिल्लीसमेत गएर आफ्नो गायनको धाक जमाइसकेका थिए । उनको प्रतिभाबाट प्रभावित भएर दिल्लीबाट प्रकाशन हुने ‘सन’ म्यागेजिनले ब्लोअपमा ठाउँ दिएको थियो र लामै अन्तरवार्ता छापेको थियो । त्यतिबेला त्यसका सम्पादक सरोज थापा थिए ।

तर एउटा नेपालीले कतिञ्जेल विदेशीका गीत गाएर बस्न सक्थ्यो ? नेपालमा एक पटकको कर्न्र्सटमा भाग लिइसकेपछि उनलाई लाग्यो नेपाली गीतको भविष्य नेपालभित्र निक्कै नै छ । त्यसपछि उनी नेपालमा नै संघर्ष गर्ने लक्ष्यका साथ काठमाडौँ बसे । उनले केही समय स्कूल पढाए र फूर्सदमा स्कूलका विद्यार्थीहरुलाई पनि सङ्गीत सिकाए । सिक्ने र सिकाउने क्रममा आफ्नो ब्याण्ड र १९७४ एडी ब्याण्डका सदस्यहरुबीच घनिष्टता हुर्किएपछि उनलाई १९७४ एडीले हार्दिकताका साथ स्वागत गर्‍यो ।

यसरी सन् १९९४ मा उनीसँगै जम्यो, १९७४ एडी ब्याण्ड । त्यसपछि एल्बम निस्किए, सफ्ट रकलाई मूलमन्त्र मान्दै । उनीहरुसँगै लोकप्रिय बन्यो, नेपालमा सफ्ट रक विधा । यो ब्याण्डले उनलाई लोकप्रियता दियो, सङ्गीतप्रतिको विश्वास र आशा दियो र जीवन जिउने एउटा बहाना दियो । तर मान्छेको मन न हो ! थोरैले कहाँ पुग्छ र ! उनलाई त्यो भन्दा बढी चाहियो । खासगरी ब्याण्डभित्रको सामूहिक अस्तित्वबाट एकल अस्तित्वको पहिचान बनाउने रहर उनलाई जाग्यो । त्यही रहर सन् २००४ मा ‘आज’ एल्बममा आएर पूरा भयो ।

‘आज’को लोकप्रियता कस्तो रह्यो भने, उनलाई १९७४ एडीको ड्रमवादकका रुपमा मात्र चिनिरहेका स्रोताले एकै पटक खाँदिएको मुलायम आवाजसँग परिचित भए । एल्बम बेच्न उनलाई कुनै कठिनाई भएन । आफ्नै पनि लोकप्रियताको कडी जाँच गर्ने अवसर उनले पाए, ‘आज’ एल्बममार्फत् ।

हेर्दामा अग्ला र रहरलाग्दा यी गायकलाई देखेर घुटुघुटु थुक निल्ने महिला प्रशंसकहरुको पनि कमी छैन । तर ‘सरी’ भन्छन् उनी । किन त ? “मैले बिहे गरेको वर्षौँ भयो र छोरो प्रज्ज्वल सात वर्षको पुगिसक्यो”, मिलेका दाँत देखाउँदै लजाएर उनले भने- “हाम्रो त लब म्यारिज पो त !”

त्यसो त एड्रियनका सपना उति महत्वाकांक्षी छैनन् । तर १९७४ एडीसँग गाँसिएपछि उनलाई के लाग्यो भने गर्न नसकिने चिज केही छैन । जस्तो कि उनलाई उनको महत्वाकांक्षा सोध्यो भने भन्न चुक्दैनन्- “हामीले हाम्रा गीतसङ्गीत र आवाजलाई विदेशमा पनि बेच्न सक्छौँ । उदाहरण, उदितनारायण छन्, कुमार कान्छा र मुरलीधर छन् । क्षमतावान् व्यक्तिलाई बजारले टपक्क टिप्छ, जस्तो कि बलिउडका सफल व्यक्तिहरु विनोद प्रधान र डेनी ।”

के उसो भए उनी आफ्नो सफलतालाई अहिले कसी लगाउँदै विदेशी भूमिमा आफूलाई प्रतिस्पर्धी बनाउने तयारीमा छन् त ? “म अब अन्त गएर संघर्ष गर्ने भन्ने कुरा चाहिँ होइन, तर यहीँ बसेर हामीले अझै मिहिनेत गर्‍यौँ र मौका मिल्यो भने हामीले गर्न नसक्ने चिज चाहिँ केही पनि छैन”, एड्रियनको आत्मविश्वास मलाई चाहिँ मन पर्‍यो, तपाइँलाई कस्तो लाग्यो कुन्नी !

Read Full Post »

– अच्युत कोइराला

एक दिन साँझ कर्ण दास खाना खाइओरी सुत्ने तर्खरमा थिए । त्यस दिन किन हो उनलाई उति राम्रो निन्द्रा लागेको थिएन । मन पनि उनको उदास-उदास थियो । यत्तिकैमा उनका छिमेकीले फोन आएको जनाऊ दिए । उनी गह्रौँ मन लिएर ओछ्यानबाट ओर्लिए र फोन रिसिभ गर्न छिमेकतिर दगुरे । उनले कानमा फोन अड्याउँदै भने- ‘हेल्लो !’

उताबाट जुन आवाज आयो, त्यो कर्ण लागि सुपरिचित आवाज थियो तर आवाजमा पीडा थियो, गम्भीरता र मधुरोपना थियो । पहिलेको जस्तो आवाजमा उत्साह, खुशी र उमङ्ग थिएन । कर्ण सोधे- ‘दाइ सञ्चो छैन कि कसो ? किन आवाज आज बेग्लै सुन्दैछु !’

‘सञ्चो छैन भाइ, मेरो मनलाई सञ्चो छैन’, उताबाट आइरहेको आवाज जापानबाटको आवाज थियो । बोलिरहेका व्यक्ति चर्चित गीतकार बीबी थापा थिए । जसका दर्जनौँ गीतहरु कर्णले गाइसकेका थिए । कर्णको स्वरबाट उनी यति प्रभावित छन् कि कुनै राम्रो गीत सिर्जना भयो भने बीबी थापा, कर्णलाई सुनाउन बिर्सँदैनन् । त्यो पनि त्यस्तै भएछ, थापाले एउटा गीत सिर्जना गरेछन् । जापानजस्तो ठाउँमा उनको गीतको भाव, मर्म र व्यथा कसले पो बुझ्थ्यो र ! बुझे पनि कर्णले जति गहिराइमा बुझ्न सक्थे, अरुले त्यत्ति नै महत्वका साथ त्यो गीतको मर्म, गहिराई र आशय बुझ्थे होलान् र ! बीबीलाई यस्तै लागेको थियो र त्यो रात कर्णलाई सम्झेका थिए । बीबीले गीतको टुक्रा सुनाउन थाले-

परदेशबाट छोरो फर्केन…
आउँछु आउँछु भन्थ्यो, चारै धाम घुमाउँछु भन्थ्यो…
पर्खिबसेकी मेरी बूढी आमा…

यो बीबी थापाको आफ्नै कथा थियो । थापाले आफ्नी बूढी आमालाई जापानबाट फर्केलगत्तै चार धाम घुमाउने वचन दिएका थिए । तर परदेशमै हुँदा आफ्नी बूढी आमाको मृत्युको खबर सुन्नु पर्दा कुन चाहिँ कर्तव्यनिष्ठ छोरोको मन रुन्नथ्यो ! आफूले गरेको वाचा अनि आमाको अन्तिम इच्छा पनि पूरा गर्न नपाउँदा कटक्क मन खाएपछि बीबी थापालाई यो गीत फुरेको थियो ।

उनले त्यो रातभरि आमालाई सम्झिएर रुँदै रात बिताएका थिए । र, आँशुको भेलसँगै गीतको सिर्जना भएको थियो । जुन दिन कर्णलाई फोन गरेर यो गीतको कथा सुनाइरहेको थिए- कथा सुन्ने कर्ण दास र सुनाउने बीबी थापा दुवैका गहभरि आँशु थिए । आँशुले छपक्क छोपेको थियो कर्णलाई फोनमा बातचित सकिँदा । उनले बीबीबाट अनुमति लिएर त्यसैबखत गीत टिपे । बीबीले पनि कर्णलाई अनुरोध गरे- “भाइ, यो गीत तिमीले गाइदिए, म अभागी छोरोको अपूर्ण श्रद्धाञ्जली पूर्ण हुने थियो !”

कर्ण पनि भावुक मनका, बीबीका यी अनुरोध टेलिफोनबाट कानमा ठोक्किएको मात्र थियो, उनलाई बारम्बार त्यो अनुरोधले झस्काइरहन्थ्यो । पुरानो डुङ्गा एल्बम तयार गर्ने बेलामा कर्णले यो गीत पनि रेकर्ड गराए । अरु त अरु गीतको भाव नमरोस् भनेर डीएनए प्रोडक्शनबाट यसको भिडियो पनि गीतको आशय अनुरुपकै तयार पारे । तर अन्तिम अवस्थामा पुरानो डुङ्गा एल्बममा यो अटेन । गीत अडियो क्यासेटमा नआइकनै भिडियोमार्फत् निकै चर्चित र लोकप्रिय बन्यो । गीत त छँदैछ, तर त्योभन्दा बढी यसमा जलप लगाइदिएको थियो- भिडियोले । भिडियो हिट भएपछि बजेट २००४ मा यो गीत अटाउन पुग्यो ।

भिडियो निर्माणको पनि अर्को रोचक प्रसङ्ग छ । भिडियोमा ३५० जनाभन्दा बढी आमाहरु अटाएका छन् । जसलाई छायाँकन गर्न डीएनए प्रडक्शनलाई तीन महिना लागेको थियो । जीवनका आखिरी दिनहरु निस्तो दिनचर्यामा बिताइरहेका थरिथरिका बूढीआमाहरुको टीठलाग्दो अवस्थाले भिडियोलाई ज्यादै सशक्त बनाएको थियो ।

यतिबेला कर्ण दास परदेशमा छन् । उनको नयाँ एल्बमको बजारमा ल्याउने तयारी सम्झना अडियो भिडियोले गरिरहेको छ । उनका प्रशंसकहरुले पनि भनिरहेका छन्- परदेशबाट कर्ण फर्केन !

Read Full Post »

नेपाली चलचित्रका लागि मौसमी गुरुङ अहिले ‘हट केक’ बनेकी छिन् । तपाइँले सोच्नु भयो होला, यिनले अब चलचित्रमा खेल्ने भइन् भनेर ! तर होइन । यिनले अहिलेसम्म दुइ दर्जन चलचित्रमा आफ्नो मधुर आवाजले निर्मातालाई लोभ्याइसकेकी छिन् । तपाइँ अचम्ममा पर्नु होला, लोभ्याउनु त दर्शक श्रोतालाई पर्ने हो- निर्मातालाई किन लोभ्याइन् ! उसो भए तल पढ्नुस् ।

गाउँले गंगाराम नामक चलचित्रमा मौसमीले एउटा आइटम गीत गाइन् । दुइ अर्थी त्यो गीतमा मौसमीले त्यसमा थोरै मस्ती र थोरै ‘शरारत’ मिसाएर आवाज मात्र के दिएकी थिइन्, निर्माता सुरेन्द्र शाहले त उनलाई नेपाली सिनेमाकी ‘हट गायिका’को उपाधि दिइहाले । त्यस्तै, महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ ‘द्विअर्थी’ गीत मात्र ।

“शुरुमा त मलाई त्यस्ता गीत मात्र भागमा पर्थे । फिलिङ्स् दिएर गाउनु पर्दा घरिघरि मलाई त यस्तो लाज लाग्थ्यो कि कुरै छाडौँ,” इनशाडटकमसँग कुरा गर्दै उनले थपिन्- “मैले मेरो अप्ठेरो घरमा पनि सुनाएकी थिएँ । तर घरमा पनि आफ्नो पेशालाई एउटा सानो कारणले पाखा लगाउन नहुने सुझाव दिनु भयो ।”

हुन पनि उनलाई घरका सदस्यहरुले आइटम गीत नगाउनू भन्ने सल्लाह दिएका भए उनी नगाउने निर्णयमा पुगिसकेकी थिइन् । तर उनकै ममीले ‘गायकीको धर्म’ नछाड्न र बरु त्यसपछिको परिणामका लागि श्रोताहरुलाई जिम्मा लगाउन सुझाव दिनु भएको थियो । यही सुझाव अहिले उनलाई काम लागेको छ ।

उनले पहिलो पटक फ्लाइट नं. १८७ मा जेम्स प्रधानको सङ्गीतमा आइटम गीत गाएकी थिइन् । ‘नहेर मलाई यसरी…’ गीत गाएर निस्कँदा उनी रातोपिरो भएकी थिइन् । त्यस्तै शम्भुजीत बासकोटाबको सङ्गीतमा ‘यता होइन उता होइन’ पनि कम्ताको दुइ अर्थी थिएन । “यो गीतमा त मैले लाजै पचाइदिएँ”, मौसमी मुख छापेर हाँस्न थाल्छिन् ।

यसपछि त महेश खड्काले उनकै लागि भनेर गीत सिर्जना गरे- ‘लाहुरेकी छोरी हुँ म…’ । यसरी अब आफ्नै नाउँ तोकेर चलचित्रका निर्माता र सङ्गीतकारहरु आउन थालेपछि उनले पनि ‘गाउनु त हो’ भन्दै गाइदिइन्- ‘यता होइन उता होइन, दिलमै लाग्यो तीर…’ ।

उनले हंगामा चलचित्रका लागि रिमिक्स भर्सनमा गाएको ‘के के भन्छन्’ चाहिँ फिल्मांकन हुन पाएन । सञ्जीवनी भेलेण्डेको स्वरकै गीतमा मज्जाले अंगपर््रदर्शन गरेकी नायिका रेजीना उप्रेतीले झन् मौसमीले गाएको गीतमा चाहिँ के गर्थिन् होला – मौसमी अहिले आफैँ छक्क परेकी छिन् ।

सिनेमा हलमा दर्शक तान्ने मुख्य औजार नै ‘आइटम गीत’ बन्न थालेको बेला आफूलाई सबैभन्दा कम पैसा दिइने गरेको कुरा चाहिँ उनले लुकाइनन् । उनले भनिन्- “दाम त किन तोक्नु, तर सम्झनुस्, त्यो पैसा मेरा लागि पकेट मनीबाहेक अरु केही पनि हुँदैन ।”

Read Full Post »