Feeds:
Posts
Comments

Posts Tagged ‘gurung’

नेपाली चलचित्रका लागि मौसमी गुरुङ अहिले ‘हट केक’ बनेकी छिन् । तपाइँले सोच्नु भयो होला, यिनले अब चलचित्रमा खेल्ने भइन् भनेर ! तर होइन । यिनले अहिलेसम्म दुइ दर्जन चलचित्रमा आफ्नो मधुर आवाजले निर्मातालाई लोभ्याइसकेकी छिन् । तपाइँ अचम्ममा पर्नु होला, लोभ्याउनु त दर्शक श्रोतालाई पर्ने हो- निर्मातालाई किन लोभ्याइन् ! उसो भए तल पढ्नुस् ।

गाउँले गंगाराम नामक चलचित्रमा मौसमीले एउटा आइटम गीत गाइन् । दुइ अर्थी त्यो गीतमा मौसमीले त्यसमा थोरै मस्ती र थोरै ‘शरारत’ मिसाएर आवाज मात्र के दिएकी थिइन्, निर्माता सुरेन्द्र शाहले त उनलाई नेपाली सिनेमाकी ‘हट गायिका’को उपाधि दिइहाले । त्यस्तै, महेश खड्का, चेतन सापकोटा र सुरेश अधिकारीकी त प्रिय गायिका उनी भइहालिन् । तर उनको भागमा पर्ने चाहिँ ‘द्विअर्थी’ गीत मात्र ।

“शुरुमा त मलाई त्यस्ता गीत मात्र भागमा पर्थे । फिलिङ्स् दिएर गाउनु पर्दा घरिघरि मलाई त यस्तो लाज लाग्थ्यो कि कुरै छाडौँ,” इनशाडटकमसँग कुरा गर्दै उनले थपिन्- “मैले मेरो अप्ठेरो घरमा पनि सुनाएकी थिएँ । तर घरमा पनि आफ्नो पेशालाई एउटा सानो कारणले पाखा लगाउन नहुने सुझाव दिनु भयो ।”

हुन पनि उनलाई घरका सदस्यहरुले आइटम गीत नगाउनू भन्ने सल्लाह दिएका भए उनी नगाउने निर्णयमा पुगिसकेकी थिइन् । तर उनकै ममीले ‘गायकीको धर्म’ नछाड्न र बरु त्यसपछिको परिणामका लागि श्रोताहरुलाई जिम्मा लगाउन सुझाव दिनु भएको थियो । यही सुझाव अहिले उनलाई काम लागेको छ ।

उनले पहिलो पटक फ्लाइट नं. १८७ मा जेम्स प्रधानको सङ्गीतमा आइटम गीत गाएकी थिइन् । ‘नहेर मलाई यसरी…’ गीत गाएर निस्कँदा उनी रातोपिरो भएकी थिइन् । त्यस्तै शम्भुजीत बासकोटाबको सङ्गीतमा ‘यता होइन उता होइन’ पनि कम्ताको दुइ अर्थी थिएन । “यो गीतमा त मैले लाजै पचाइदिएँ”, मौसमी मुख छापेर हाँस्न थाल्छिन् ।

यसपछि त महेश खड्काले उनकै लागि भनेर गीत सिर्जना गरे- ‘लाहुरेकी छोरी हुँ म…’ । यसरी अब आफ्नै नाउँ तोकेर चलचित्रका निर्माता र सङ्गीतकारहरु आउन थालेपछि उनले पनि ‘गाउनु त हो’ भन्दै गाइदिइन्- ‘यता होइन उता होइन, दिलमै लाग्यो तीर…’ ।

उनले हंगामा चलचित्रका लागि रिमिक्स भर्सनमा गाएको ‘के के भन्छन्’ चाहिँ फिल्मांकन हुन पाएन । सञ्जीवनी भेलेण्डेको स्वरकै गीतमा मज्जाले अंगपर््रदर्शन गरेकी नायिका रेजीना उप्रेतीले झन् मौसमीले गाएको गीतमा चाहिँ के गर्थिन् होला – मौसमी अहिले आफैँ छक्क परेकी छिन् ।

सिनेमा हलमा दर्शक तान्ने मुख्य औजार नै ‘आइटम गीत’ बन्न थालेको बेला आफूलाई सबैभन्दा कम पैसा दिइने गरेको कुरा चाहिँ उनले लुकाइनन् । उनले भनिन्- “दाम त किन तोक्नु, तर सम्झनुस्, त्यो पैसा मेरा लागि पकेट मनीबाहेक अरु केही पनि हुँदैन ।”

Read Full Post »