सन् २००४ मा पहिलो एकल एल्बम आज बजारमा ल्याएका एड्रियन प्रधान पछिल्लो समयमा सबैभन्दा बढी लोकप्रिय गायकका रुपमा परिचित छन् । उनको एकल गायनको प्रयासले पपगायनमा जमेका केही गायकहरुको करियर नै धर्मराउने उनको प्रवेशलाई कतिले त इष्र्यालु नजरले हेरे पनि १९७४ एडी साङ्गीतिक समूहका यी ड्रमरको उद्देश्य चाहिँ एकल गायनमा आफ्नो धाक जमाउनु नै थियो । त्यसैले पहिलो एल्बमबाट नै उनले जति ख्याति बटुले, त्यसमा उनी सन्तुष्ट छन् ।
तर यो जान्दा तपाइँलाई अचम्म लाग्ला कि यी गायकको अर्को एकल एल्बम बजारमा आइसकेको छ, तर पछिसम्म यिनलाई थाहा थिएन- ब्यालेड नामक यो एल्बम आफूले कहिले निकालेँ भनेर ! अलि बुझ्नु भएन होला, ताल म्युजिकले बजारमा ल्याएको ‘ब्यालेड’ एल्बमका लागि कम्पनीले आफूलाई जानकारी नै नदिई अरुका लागि गाइदिएका गीतहरुको सङ्कलन बजारमा आएको छ । त्यसैले त यो एल्बम निस्किए पनि उनी आफूलाई जानकारी नहुनु आश्चर्यको विषय उनले मानिरहेका छैनन् ।
खैर, यी त भए गायन व्यवसायिकताका कुरा तर सानामा उनलाई गायक हुँला भन्ने त एकमनमा पनि थिएन । सोच्छन्- “म लजालु केटा थिएँ । म निस्क्रिय थिएँ । तर अरुका क्रियाकलाप, खेलकूद हेरिरहने किसिमको बेग्लै थिएँ ।” भिडभन्दा अलग रहेर व्यक्ति र समाज केलाउने उनलाई त्यसो त सङ्गीतको सारेगम सिकाउने गुरु हुनुहुन्थ्यो, चन्द्रमोहन केसी । तपाइँले उनले गाएको ‘सम्बोधन तिमीलाई गर्दैछु म…’ सुन्नु भएको छ भने यो गीत तिनै गुरुप्रति समर्पित गीत हो । “उहाँले नै मलाई सङ्गीतको सारेगम सिकाउनु भयो, आज नाम कमाएपछि मलाई लाग्यो मेरो गुरुप्रति मैले केही समर्पित गर्नै पर्छ- त्यही भएर यो गीत जन्म्यो र हिट पनि भयो”, केही क्षण भावुकतामा डुब्दै गायक प्रधानले इनशाडटकमलाई बताए ।
कालिम्पोङमा जन्मिएका यी गायकले एक कक्षादेखि आठ कक्षासम्म एउटा स्कूलमा पढे र त्यसपछि अर्को स्कूलमा सरे । अर्को स्कूलमा सरेपछि उनको गायनसँगको सम्बन्ध टुट्यो, सर चन्द्रमोहन पनि छुट्नु भयो । स्कूलका विविध कार्यक्रममा उनले सहभागिता न्यून हुँदै गयो । तर, एक दिन स्कूलमा उनैले गीत गाउनु पर्ने भयो, गीतारमा हातमा लिएर उनले गाए- स्मोक अन द वाटर… । यो गीत उनले के गाएका थिए, वास्तवमा उनले पानीमा आगो लगाइदिए !
यसपछि उनका ‘कजन’हरुले उनलाई उक्साए । हुन त उनलाई बढीमा अंग्रेजी गीत नै मन पर्दथ्यो तर कजनहरुको रुचि दीप श्रेष्ठका गीतमा पनि भएपछि उनले विस्तारै नेपाली गीत गाउन थाले । उनको प्रभाव र रुचि अंग्रेजी गीतमा कतिसम्म थियो भने उनले सन् १९९० सम्म भारतीय राजधानी दिल्लीसमेत गएर आफ्नो गायनको धाक जमाइसकेका थिए । उनको प्रतिभाबाट प्रभावित भएर दिल्लीबाट प्रकाशन हुने ‘सन’ म्यागेजिनले ब्लोअपमा ठाउँ दिएको थियो र लामै अन्तरवार्ता छापेको थियो । त्यतिबेला त्यसका सम्पादक सरोज थापा थिए ।
तर एउटा नेपालीले कतिञ्जेल विदेशीका गीत गाएर बस्न सक्थ्यो ? नेपालमा एक पटकको कर्न्र्सटमा भाग लिइसकेपछि उनलाई लाग्यो नेपाली गीतको भविष्य नेपालभित्र निक्कै नै छ । त्यसपछि उनी नेपालमा नै संघर्ष गर्ने लक्ष्यका साथ काठमाडौँ बसे । उनले केही समय स्कूल पढाए र फूर्सदमा स्कूलका विद्यार्थीहरुलाई पनि सङ्गीत सिकाए । सिक्ने र सिकाउने क्रममा आफ्नो ब्याण्ड र १९७४ एडी ब्याण्डका सदस्यहरुबीच घनिष्टता हुर्किएपछि उनलाई १९७४ एडीले हार्दिकताका साथ स्वागत गर्यो ।
यसरी सन् १९९४ मा उनीसँगै जम्यो, १९७४ एडी ब्याण्ड । त्यसपछि एल्बम निस्किए, सफ्ट रकलाई मूलमन्त्र मान्दै । उनीहरुसँगै लोकप्रिय बन्यो, नेपालमा सफ्ट रक विधा । यो ब्याण्डले उनलाई लोकप्रियता दियो, सङ्गीतप्रतिको विश्वास र आशा दियो र जीवन जिउने एउटा बहाना दियो । तर मान्छेको मन न हो ! थोरैले कहाँ पुग्छ र ! उनलाई त्यो भन्दा बढी चाहियो । खासगरी ब्याण्डभित्रको सामूहिक अस्तित्वबाट एकल अस्तित्वको पहिचान बनाउने रहर उनलाई जाग्यो । त्यही रहर सन् २००४ मा ‘आज’ एल्बममा आएर पूरा भयो ।
‘आज’को लोकप्रियता कस्तो रह्यो भने, उनलाई १९७४ एडीको ड्रमवादकका रुपमा मात्र चिनिरहेका स्रोताले एकै पटक खाँदिएको मुलायम आवाजसँग परिचित भए । एल्बम बेच्न उनलाई कुनै कठिनाई भएन । आफ्नै पनि लोकप्रियताको कडी जाँच गर्ने अवसर उनले पाए, ‘आज’ एल्बममार्फत् ।
हेर्दामा अग्ला र रहरलाग्दा यी गायकलाई देखेर घुटुघुटु थुक निल्ने महिला प्रशंसकहरुको पनि कमी छैन । तर ‘सरी’ भन्छन् उनी । किन त ? “मैले बिहे गरेको वर्षौँ भयो र छोरो प्रज्ज्वल सात वर्षको पुगिसक्यो”, मिलेका दाँत देखाउँदै लजाएर उनले भने- “हाम्रो त लब म्यारिज पो त !”
त्यसो त एड्रियनका सपना उति महत्वाकांक्षी छैनन् । तर १९७४ एडीसँग गाँसिएपछि उनलाई के लाग्यो भने गर्न नसकिने चिज केही छैन । जस्तो कि उनलाई उनको महत्वाकांक्षा सोध्यो भने भन्न चुक्दैनन्- “हामीले हाम्रा गीतसङ्गीत र आवाजलाई विदेशमा पनि बेच्न सक्छौँ । उदाहरण, उदितनारायण छन्, कुमार कान्छा र मुरलीधर छन् । क्षमतावान् व्यक्तिलाई बजारले टपक्क टिप्छ, जस्तो कि बलिउडका सफल व्यक्तिहरु विनोद प्रधान र डेनी ।”
के उसो भए उनी आफ्नो सफलतालाई अहिले कसी लगाउँदै विदेशी भूमिमा आफूलाई प्रतिस्पर्धी बनाउने तयारीमा छन् त ? “म अब अन्त गएर संघर्ष गर्ने भन्ने कुरा चाहिँ होइन, तर यहीँ बसेर हामीले अझै मिहिनेत गर्यौँ र मौका मिल्यो भने हामीले गर्न नसक्ने चिज चाहिँ केही पनि छैन”, एड्रियनको आत्मविश्वास मलाई चाहिँ मन पर्यो, तपाइँलाई कस्तो लाग्यो कुन्नी !
Leave a comment